हिमाल आरोहणका लागि सिजन सुरू

काठमाडौं - पर्यटकीय सिजन सुरू भएसँगै पर्यटकहरूले हिमाल आरोहणका लागि अनुमति लिन थालेका छन्। सबैभन्दा बढी आम्दानी हुने सगरमाथामा समेत यो सिजनमा आरोहणका लागि अनुमति लिने पर्यटक छन् ।

 विभागले वर्षमा तीन सिजनका लागि हिमाल आरोहण अनुमति खुला गर्छ । जसमध्ये सर्वाधिक हिमाल आरोहण हुने सिजन वसन्तयाम हो । पर्यटन विभागकाअनुसार वसन्त ऋतुका लागि आइतबार (हिजो) सम्म ५० जना आरोहीले अनुमति पाएका हुन्। यसमध्ये ३४ जनाले अन्नपूर्ण आरोहणका लागि अनुमति पाएका छन्। 

त्यस्तै २ जनाले सुर्मा सरोवर (६५२३ मिटर), ६ जनाले पाङग्री गोलदुम्बा (६६२० मिटर), ३ जनाले मनास्लु (८१६३ मिटर) र ५ जना पर्यटकले थोराङ पिक (६१४४ मिटर) का लागि अनुमति लिएका हुन्।

यो आरोहणमार्फत सरकारलाई रोयल्टीबापत १ करोड २९ लाख रूपैयाँ आम्दानी हुने विभागले जनाएको छ।