एसीसी प्रिमियर कप : नेपालले मलेसियालाई ६ विकेटले हरायो 

काठमाडौँ - एसीसी प्रिमियर कप अन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । किर्तिपुर मैदानमा भएको खेलमा मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६।२ ओभरमै ४ विकेटको क्षतिमा भेट्टायो ।

नेपालको जितमा कुशल मल्ल ७० रन बनाएर नटआउट रहे । उनले निकै तुफानी इनिङ खेले । ७५ रनको इनिङमा उनले मात्रै ४० बल खेले । यस क्रममा १७५ को स्ट्राइक रेटमा ब्याटिङ गरेका उनले ५ छक्का र ५ चौका प्रहार गरे ।

भिम सार्कीले ७१ रन बनाएर आउट भए । यस्तै कप्तान रोहित पौडेलले ४२ रन बनाए भने कुशल भुर्तेलले ३८ रन बनाए । मलेसियाका लागि मुहम्मद वफिक, रिजवान हैदर र विरन्दीप सिंहले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेटको क्षतिमा २३५ रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाए ।

विरन्दीप सिंहले ४६, खिजर हयातले २२, स्याजरुल इद्रुसले २१, मुहम्मद आमिरले १७, मुहम्मद स्याहादतले १५, सइद अजीजले १३, विजय उन्नीले १२ रन बनाए । नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले सर्वाधिक ३–३ विकेट लिए । ललित राजवंशीले २ र गुलशन झाले १ विकेट लिए ।

यो प्रतियोगिता एसिया कपको छनोट प्रतियोगिता हो । नेपालसहित मलेसिया, सिंगापुर, हङकङ, कुवेत, युएइ, ओमन, कतार, बहराइन र साउदी अरेबिया गरी १० टिम सहभागी यो प्रतियोगिताको विजेताले पाकिस्तानमा हुने एसिया कपमा सहभागी हुन पाउनेछन् ।