पुल बनाउन भारतले सहमति दिएन, ओहोरदोहोरको माध्यम डुङ्गा मात्र

धनगढी - भारतले सहमति नदिएपछि कैलालीको भजनी नगरपालिका–५, गुलरिया घाटस्थित मोहना नदीमा पुल निर्माण अन्योल बनेको छ ।

दुई देशको सीमा क्षेत्रमा पुल बनाउनका लागि चालू आर्थिक वर्षमा प्रक्रिया अघि बढाइए पनि भारतले सहमति नदिँदा पुल निर्माण अनिश्चित बनेको हो । गुलरिया घाटको वारि नेपाल र पारितर्फ भारत पर्छ ।

दुई देशको भूभागलाई जोड्ने स्थानमा पुल बनाउनका लागि भारतले सहमति नजनाएको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताए। उनका अनुसार पुलको विषयमा माथिल्लो तहसम्म कैयौँ पटक छलफल भयो । तर भारतले सहमति जनाएन ।

“भारतले सहमति नजनाएकाले यो घाटमा पुल बनाउन असम्भव देखिएको छ,” उनले भने, “किनभने उसको सहमतिबिना पुल बनाउन सकिँदैन ।”

गुलरिया घाटमा पुलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउनका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा साढे ४७ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।

सरकारले बजेट विनियोजन गरेपछि गत भदौमा डिभिजन कार्यालयसहित जनप्रतिनिधिको टोलीले सो स्थानको निरीक्षण गरेको थियो ।  पुल बनाउनका लागि निरीक्षण भए पनि थप प्रक्रिया अगाडि बढ्न नसकेको भजनी नगरपालिका–५ का वडा अध्यक्ष केशवबहादुर बुढाले बताए ।

“डीपीआरकै लागि तीन पटक बजेट छुट्याइएको सुनियो,” उनले भने, “तर पुल निर्माणको थप प्रक्रिया अझै अगाडि बढेको छैन ।” सो घाटमा पुल नहुँदा ओहोरदोहोरको माध्यम डुङ्गा बनेको छ । त्यहाँ नेपाल र भारत दुवै देशका तर्फबाट डुङ्गा सञ्चालन भइरहेको छ ।

भजनी नगरपालिकाले डुङ्गा सञ्चालनका लागि ठेकेदारलाई ठेक्का दिएको छ भने भारतका तर्फबाट पनि सोही घाटमा ठेक्कामार्फत भारतीयले डुङ्गा सञ्चालन गरिरहेका छन् ।

यताबाट भारत जानेहरूको नेपाली ठेकेदारले र भारतबाट नेपालतर्फ आउनेहरूको भारतीय ठेकेदारले शुल्क लिने गरेको वडा अध्यक्ष बुढाले बताए । एउटै घाटमा दोहोरो ठेक्का भई डुङ्गा सञ्चालन भइरहेकाले पुल बनेमा नेपाल–भारत दुवैतर्फका जनतालाई आउजाउ गर्न सहज हुने उनले बताए ।

गुलरिया घाटबाट नेपाली भारतको तिकुनियालगायतका सीमावर्ती बजारमा किनमेल र स्वास्थ्योपचारका लागि जाने गरेका छन् । यसैगरी भारतीयहरू पनि भजनी, जोशीपुर, सुखडलगायतका बजारमा किनमेलका लागि आउने गरेका छन् ।

पुल बनेमा दुवै देशका बासिन्दालाई आउजाउ गर्न सहज हुने अध्यक्ष बुढाको भनाइ छ । “पुल भएमा पछि गएर भन्सार पनि फस्टाउन सक्छ,” उनले भे “हाम्रो यहाँको व्यापार, व्यवसायमा पनि सहयोग पुग्नेछ ।”

पुल बनाउनका लागि भारतले सहमति नदिएपछि नेपाली भू–भागमा मात्रै पुल बनाउन सकिन्छ कि भनेर छलफल चलाइएको थियो । तर नेपाली भू–भागमा मात्रै नदीमा पुल बन्न सम्भव नदेखिएको भजनी नगरपालिकाका प्रवक्ता चौधरीले बताए ।

“भारतले सहमति नदिएपछि नेपाली भागमा मात्र पुल बनाउने कि भन्ने पनि कुरो चल्यो,” उनले भने, “तर जग्गा अपुग हुने भएका कारण त्यो सम्भव देखिएन ।” पक्की पुल बनाउनका लागि भारतले सहमति नदिएपछि झोलुङ्गे पुल बनाउनका लागि कुरा चलिरहेको बताइएको छ । गोरखापत्र दैनिकबाट