काठमाडौं - कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले जनप्रतिनिधिको भूमिकाबाट न्याय सम्पादन गर्दा पूर्वाग्रह राखेर फैसला गर्नु नहुने बताएका छन् । बिहीबार काठमाडौं महानगरको कार्यक्रममा बोल्दै उनले न्यायिक सम्मेलनमा रहेर न्याय सम्पादन गर्दा जनप्रतिनिधि हुँ भन्नेकुरा बिर्सिएर न्याय सम्पादन गर्नुपर्ने बताएका हुन् ।
उनले न्याय सम्पादन गर्दा मेरो पार्टी यो हो भन्ने हिसाबबाट गरिए न्याय पूर्वाग्रही हुने बताए। उनले पूर्वाग्रह भएको ठाउँमा न्याय हुन नसक्ने पनि बताए । कामु प्रधानन्यायधीश कार्कीले न्याय दिनको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्नेमा जोड दिए। उनले स्थानीय जनप्रतिनिधिले समाज मिलाएर राख्नका लागि भने आफू जनप्रतिनिधि पनि हुँ भन्ने हिसाबबाट सोच्न जरुरी रहेको बताए ।
उनले भने, ‘‘स्थानीय जनप्रतिनिधिको भूमिका न्यायिक समितिको एउटा न्यायाधीश मात्रै नभएर तपाईंहरुको भूमिका जनप्रतिनिधिको हुनुपर्छ। त्यसैले जनप्रतिनिधिको भूमिकाबाट पनि न्याय नै फैसला नै गर्नुपर्यो भने फेरि जनप्रतिनिधि हुँ भन्ने बिर्सिनुपर्छ। म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्नेकुरा बिर्सिनुपर्छ। यदी म यो पार्टीबाट निर्वाचित भएको हुँ भन्नेकुरा दिमागमा राखेर मनमा राखेर फैसला गर्नुभयो भने त्यहाँ पूर्वाग्रह हुन्छ। जहाँ पूर्वाग्रह हुन्छ त्यहाँ न्याय हुँदैन। न्याय पर्नको लागि स्वच्छ र खुला दिमागले निर्णय लिनुपर्छ।’’
कामु प्रधानन्यायाधीश कार्कीले मेलमिलाप कायम गरेर अघि बढ्नसके सबैले साथ दिने बताए । न्यायिक समितिले फैसला गर्नेकुरामा भन्दा मेलमिलापको कुरामा बढी जोड दिनुपर्ने बताए ।