काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताएकी छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबको आज कार्यालय निरीक्षण तथा भेटका क्रममा उनले ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि पर्याप्त कानुन नभएकाले आफू कानुन निर्माणमा केन्द्रित भएको बताइन् ।
उनले नेपाली समाज धेरै अगाडि बढे पनि कतिपय क्षेत्रमा पञ्चायतकालीन कानुन रहेकाले त्यसको परिवर्तन गर्र्नुपर्नेमा जोड दिइन्। सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले नेपालको परिवर्तन र जागरणमा रेडियोको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै अब सङ्ख्यामा भन्दा गुणस्तरीय सामग्री निर्माणमा जोड दिन आग्रह गरिन् ।
अहिले समाजमा पर्याप्त कानुनी चेतनाको अभावमा बहुविवाह, छुवाछुतजस्ता जघन्य अपराध भइरहेको उल्लेख गर्दै उनले सञ्चारमाध्यमले कानुन साक्षरतामा सहयोग पुग्ने सामग्री निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।