यू–१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौँ - आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो । नेपालले यसअघि सिंगापुर र कुवेतलाई पराजित गरेको थियो ।

युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२।१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए । उनले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाए । ओपनर अर्जुन कुमालले १६ रन जोडे । हङकङका डानिएल मोर्गन मपले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४६।३ ओभरमा १२० रनमा अल आउट भएको थियो । हङकङका लागि पार्थ भागवतले ९३ बल खेल्दै ४ चौका प्रहार गरी सर्वाधिक ३६ रन बनाए । मोहम्मद अलियान जाहिरले २९ रन बनाए ।

नेपालका हेमन्त धामीले ३ विकेट लिए । यस्तै सुवास भण्डारी र आकाश चन्दले समान २र२ विकेट लिए । दिपेश कंडेलले एक विकेट लिए ।

नेपालले अब अर्को खेल मलेसियासँग मंगलबार खेल्नेछ । नेपाल र युएईबीच अन्तिम खेल बिहीबार हुनेछ ।