पाँचथरमा बाढी पहिरोका कारण ११९ परिवार विस्थापित

काठमाडौँ - पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन् ।

सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन् । बाढी र पहिराका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् । पूर्ण विस्थापित हुने जिल्लावासीको सङ्ख्या ५९ छ । यस्तै जिल्लाका ८६ घर बाढी पहिराको उच्च जोखिममा छन् । उच्च जोखिममा परेका ८६ परिवारका चार सय २५ नागरिक पनि विस्थापित बनेका छन् ।


यस्तै बाढी पहिराका कारण १९ घरमा आंशिक क्षति पुगेको छ, जसकारण ९० जना नागरिक प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए । जिल्लामा हाल कूल पाँच सय ७४ नागरिक आफ्नो घरबाट विस्थापित बनेको प्रजिअ मङ्ग्रातीले बताए ।