images

इफाप्का फोरममा प्रधानमन्त्री दाहालको सम्बोधन, दिगो विकासका लागि सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ

मंसिर ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिगो विकासका लागि सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताउनु भएको छ । राजधानीमा विहिवार इफाप्काको ४६ औं सम्मेलन अन्र्तगत ‘दिगो पूर्वाधारमा साझेदारी’ विषयक फोरमको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारले सरकारी तथा निजी क्षेत्रको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । आपसी सहकार्यबाटै आर्थिक समुन्नती सहितको सामाजिक तथा वातावरणीय हिसाबले दिगो विकासको लक्ष्य हासिल गर्न सकिने प्रधानमन्त्री दाहालले बताउनुभयो ।

नेपालले सन् २०४५ सम्म कार्वन उत्सर्जन शून्यमा ल्याउने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले विकास निर्माणको काम पनि सोही अनुसार गर्न सम्बन्धित् निकायको ध्यानाकर्षण गराउनुभयो । एशिया प्रशान्त क्षेत्रमा दिगो विकासको अझ बढी महत्व रहेको र यस विषयमा नेपाल सरकार जानकार रहेको समेत प्रधानमन्त्री दाहालले स्पष्ट पार्नुभयो । इफाप्का आबद्ध मुलुकमा दिगो विकास बारेमा जनचेतना जगाउन इफाप्काले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री दाहालले प्रशंसा गर्नुभयो । फोरम उद्घाटन सत्रका सभापति, इफाप्काका अध्यक्ष समेत रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले दिगो विकासका लागि सरोकारवाला सबै निकायबीचको समन्वय आवश्यक भएको धारणा राख्नुभयो । महासंघका सल्लाहकार तथा इफाप्का महासचिव विरेन्द्रराज पाण्डेले इफाप्काले विगत एक वर्षको अवधिमा गरेका फोरमहरूको निचोड प्रस्तुत गर्दै इफाप्का प्रभावकारी ढंगले अघि बढिरहेको बताउनुभयो । इफाप्काका कार्यकारी निर्देशक लेभी भी. एसप्रितुले वातावरणमैत्री पूर्वाधार निर्माणका लागि सरकारी तथा गैरसरकारी निकाय दुवैको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष विन्दुनाथ लोहनी, पूर्वाधार विद् तान सेङ चुहान लगायतका वक्ताहरूले पूर्वाधारको चक्रबारे प्रकाश पार्दै दिगो विकासका लागि आपसी समन्वय आवश्यक भएको बताउनुभयो । उद््घाटन सत्रपछिको प्यानल डिस्कसन र इमर्जिङ योङ लिर्डस् कार्यक्रममा पूर्वाधारविद्हरूले दिगो पूर्वाधारका विविध पक्षबारे प्रकाश पार्नु भएको थियो । सम्मेलन शुक्रवार सकिनेछ ।

 

 

बिहीबार ७ मंसिर २०८० ०४:१६ PM मा प्रकाशित

प्रतिक्रिया