images

बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ 

बिर्तामोड । झापाको हल्दीवारी गाउँपालिकामा आफ्नै बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेके छ । हल्दीबारी गाउँपालिका–२ पाराखोपी बजारपूर्व आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको हो ।
गएराति २ बजे पाराखोपीका ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा झुण्डिएको अवस्थामा फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ ।
राजवंशीको मृत्यु शंकास्पद देखिएपछि उनका छोरा करिब ३० वर्षीय सुनिललाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । डीएसपी चन्द नेतृत्वको टोलीले अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिएको हो ।
झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको, अनुहारसहित शरीरका विभिन्न भागमा चोट लागेको र अनुहारभरी रगत देखिएको वडा अध्यक्ष शुकलाल राजवंशीले बताए । 
सुनिललाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ भने मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । मृतक बासु र उनका छोराबिच त्यस रात झगडा भएको बताइएको छ । छोराको लुगामा समेत रगत भेटिएको डीएसपी चन्दले जानकारी दिए ।

मङ्गलबार ८ साउन २०८१ ०३:०२ PM मा प्रकाशित

प्रतिक्रिया