images

सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैन्ः डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले १० वर्षमा संविधानमा पुनरावलोकन वा परिमार्जन गर्नुपर्ने संवैधानिक वाध्यता रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन केन्द्रीय समितिले आयोजना गरेको ‘संविधान संशोधन र प्रेस  तथा अभिव्यक्ति’ विषयक विचार गोष्ठीमा उनले पुनरावलोकन संविधानमै भएको व्यवस्था भएकाले कांग्रेस–एमालेले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए । साथै सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरालाई ध्यान दिनुपर्ने बताए ।

ठूला दल एक ठाउँमा उभिंदा कतै निरङकुशता उब्जन्छ कि भन्न डर कायम छ । यसमा मिडियाले निरन्तर खवरदारी गर्नुपर्छ । सत्ता पक्षमा हुँदैमा गलतलाई सत्य भन्न सकिदैन् । संसदबाट सहीलाई सही र गलतलाई गलत हो भनेर कांग्रेस आवाज उठाउँछ,उनले भने ।

डा.कोइरालाले संविधान संशोधन गर्दा समावेशितालाई अझ बलियो बनाउनेगरी जानुपर्ने र निर्वाचन प्रणालीलाई सुधार गर्नुपर्ने औंल्याए । संविधान संशोधन गर्ने नाममा ‘पेन्डोरा बक्स’ त खुल्ने होइन भन्ने डर भएकाले यसमा सचेत रहनुपर्ने सुझाए ।

मन्त्रीहरु खादा मालामा व्यस्त भएको उल्लेख गर्दै डा. कोइरालाले सरकारलाई गल्ती गर्ने र कुनै कमी कमजोरी गर्ने छुट नभएको बताए । नागरिकमा निराशा चिर्न र राष्ट्रलाई प्राथमिकतामा राखेर आशा जगाउनेगरी काम गर्ने बताए ।

उनले प्रेस स्वतन्त्रताले पनि राजनीतिक क्षेत्रमा ठुलो परिवर्तन आउने बताए । यस्तै उनले कांग्रेस र एमालेको सहकार्यमा बनेको सरकारले संविधान संशोधन गर्दा सबै राजनीतिक दलसँगै मिलेर अगाडि बढ्न आग्रह गरे । उनले सबै मिलेर गए मात्रै राजनीतिक स्थायित्व,आर्थिक विकास, सुशासन,भ्रष्टाचार मुक्त समाज बन्ने विश्वास व्यक्त गरे ।

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले वर्तमान सरकारले प्रेस सम्बन्धी कानुन निर्माण गर्दा संवैधानिक व्यवस्थालाई ख्याल गर्न आग्रह गरे ।

कार्यक्रममा बरिष्ठ पत्रकार हरिहर विरहीले अघिल्लो सरकारले प्रेस कानुन ल्याउने नाममा प्रेसलाई खुम्च्याउने प्रयास गरेकाले बर्तमान सरकारबाट प्रेस स्वतन्त्रता सुरक्षित रहने विश्वास व्यक्त गरे । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले संविधान संशोधन गर्दा प्रेसका प्रशस्त विषयहरु सुधार गर्नुपर्ने औंल्याए ।

युनियनका अध्यक्ष शिव लम्सालले जुनसुकै सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता निमोठ्न खोजे जुनसुकैबेला सडकबाट प्रतिकार गर्ने दृढता व्यक्त गरे । उनले पत्रकार महासंघलाई वास्तविक पत्रकारको संस्था बनाउन, सबै विचार र आस्था बोकेका कलमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध उपयोग गर्न पाउने वातावरण निर्माणका लागि युनियन सँधै क्रियाशील रहने बताए ।

अध्यक्ष लम्सालले संघ, प्रदेश र स्थानीय सरकारले कानुन बनाउने क्रममा संविधानको प्रस्तावनाको मर्म र अन्य संवैधानिक हकमाथि अकुङ्श लगाउने प्रयत्न भएपनि आफूहरुले खबरदारी कायम राखेको बताए । सामाजिक सञ्जाल र पत्रकारिताबिचको भेद छुट्याउन नसक्नेले पत्रकारिता क्षेत्रलाई निरन्तर बदनाम गराउन खोजिरहेकोप्रति आफूहरु सजग रहनुपर्ने उनको भनाइ थियो ।

 

 

मङ्गलबार ८ साउन २०८१ ०५:१० PM मा प्रकाशित

प्रतिक्रिया