जंगलबाट लागेको आगो गाउँ पस्दा प्युठानमा ११ घर जलेर नष्ट, २ जना घाइते

काठमाण्डौँ - प्युठानको स्वर्गद्वारी नगरपालिका-२ धनवाङको प्रगतिशील सामुदायिक वनमा लागेको आगो गाउँ पस्दा ११ घर र आठ वटा गोठ जलेर नष्ट भएका छन् ।

शनिबार राति लागेको आगो आइतबार धनवाङको गाउँमा पसेको नगरपालिकाका उपमेयर मिनराज रानामगरले जानकारी दिए । आगलागीमा परी स्थानीय दुई जना घाइते भएका छन् । स्थानीय ७६ वर्षीय वीर बहादुर कामी र पिमा परियार घाइते भएका छन् ।

वीर बहादुरको पाल्पा र पिमाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको रानामगरले बताए ।