काठमाडौं - आगामी १० बैशाखमा हुने चितवन- २ को उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चाले भाग लिने निर्णय गरेको छ।
मंगलबार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले चितवन– २ बाट उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो। सो निर्वाचन क्षेत्रबाट रास्वपाका रवि लामिछानेले चुनाव लड्ने तयारी गरिरहेको बेला जनमोर्चाले नेपालको उनको उम्मेदवारी बिरुद्ध उम्मेदवारी दिने निर्णय लिएको हो।
बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको ‘स्वतन्त्र पार्टी’को भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई सङ्घर्षको महत्वपूर्ण मञ्चको रूपमा अगाडि बढाउने निर्णय गरेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापन पत्र बुझाउन जाँदा पनि जनमोर्चाले लामिछानेलाई गृहमन्त्रीमा नियुक्त नगरेर देशको साबभौम सत्ता र अखण्डता जोगाएको भन्दै जनमोर्चाले धन्यबाद ज्ञापन गरेको थियो।
लामिछानेको गृहमन्त्रीमा पुर्नबहाली हुन नसकेको खुसी ब्यक्त गर्दै आएको जनमोर्चाले उनको बिरुद्धमा उम्मेदवारी दिने निर्णय गरेको हो। जनमोर्चाको सो निर्णयसँगै औपचारिक रुपमा चितवन– २ मा उम्मेदवारी दिने पहिलो राजनीतिक दल पनि भएको छ।