नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज प्रतिवेदन बुझाउँदै

काठमाडौँ - नक्कली शरणार्थी प्रकरणमा प्रहरीले छानविन टुंग्याएको छ । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा आइतबार रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउँदैछ ।

नेपाली नागरिकलाई नक्क्ली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका ३२ जनालाई नै ठगी र संगठित अपराधमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिने भएको छ ।

केही अभियुक्तविरुद्ध लिखतसम्बन्धी कसुर किर्ते मुद्दा पनि दायर हुने सम्भावना छ । यद्यपि, यससम्बन्धी अन्तिम निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ । आरोपितमध्ये चार उच्च पदस्थहरु टोपबहादर रायमाझी, बालकृष्ण खाँण, टेकनारायण पाण्डे, इन्द्रजित राई र भुटानी शरणार्थी नेता टेकनाथ रिजालमाथि भने राज्य विरुद्धको कसुरमा पनि मुद्दा चलाउनुपर्ने प्रहरीको ठहर छ ।