हिउँदे याम नसकिँदै गर्मी सुरु, तापक्रममा निरन्तर वृद्धि

 काठमाडौँ - यस वर्षको हिउँदे याम नसकिँदै गर्मी सुरु भएको छ । पछिल्ला दिनमा तापक्रम निरन्तर वृद्धि हुँदै गएकाले गर्मी महसुस गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले हिउँदे वर्षा पर्याप्त नहुँदा सुक्खापन बढेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको बताए । उनले भने, “अहिले अधिकतम तथा न्यूनतम तापक्रम बढिरहेको छ । पश्चिमी वायु सक्रिय नभएकाले वर्षा नहुँदा चिसो बढ्न नसकेकाले पनि तापक्रम बढेर चाडै गर्मी महसुस गरिएको हो ।”

अघिल्लो वर्ष हिउँदमा पश्चिमी वायु बढी सक्रिय रहेकाले हिउँदे वर्षा राम्रोसँग भएको थियो । यस पटक वर्षा गराउने मौसमी प्रणाली प्रभावकारी नभएकाले वर्षा हुन नसकेको मौसमविद्को भनाइ छ ।

मौसमविद् लामिछानेका अनुसार प्रि मनसुनको सिजन नजिकिएकाले पनि तापक्रम बढिरहेको छ । हिउँदे वर्षा गराउने मौसमी प्रणाली विकसित भए पनि त्यसको सक्रिय प्रभाव नभएकाले देशका सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी वर्षा भएको छ । बाँकी क्षेत्रमा अपेक्षित वर्षा नभएकाले बाली लगाएका किसानसमेत मर्कामा परेका छन् । सुक्खापनले पर्यावरणमा समेत असर परेको छ ।