सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु 

काठमाडौँ - यस सिजनमा सगरमाथा आरोहण गर्ने क्रममा ११ जनाले ज्यान गुमाएका छन् । शुक्रबार मात्रै एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ जना पुगेको हो । 

मलेसियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुबलाई सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परेपछि आधारशिविर ल्याइएको थियो ।उनको सोही क्रममा मृत्यु भएको हो । अर्का एक जनाको भने पहिचान खुल्न बाँकी छ । 

सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिका संयोजक खिमलाल गौतमले जानकारी दिएका छन् ।  ‘यस सिजनमा सगरमाथाको चुचुरोमा जाने क्रममा, चुचुरोमा पुगेर फर्किने क्रममा तथा सरसामान ओसारपसारका क्रममा गरी अहिलेसम्म ११ जनाले ज्यान गुमाएका छन्’ उनले सञ्चारकर्मीसँग भने ।