जेठ महिनामा मनकामना जानेको संख्या अहिलेसम्म कै उच्च !

काठमाडौँ - मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम भएको छ ।

आर्थिक वर्षको जेठ महिनामा झण्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबलकार मार्फत मनकामना यात्रा गरेका छन् । यस वर्षको जेठ महिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको हो । यस अघि आव २०७५र७६ मा जेठमा नै १ लाख ३५ हजार २७२ को मासिक रेकर्ड थियो ।

मनकामना केबलकारमार्फत ११ महिनामा १० लाख २१ हजार यात्रुले सेवा लिएका छन् । ‘अहिलेसम्म १० लाख २१ हजार २३९ यात्रुहरुलाई केबलकार सेवा प्रदान गरेका छौँ । यसअघि आव २०७५र७६ को जेठमा मा १ लाख ३५ हजार २७२ को मासिक रेकर्ड थियो जुन यस आवमा तोडिएको छ,’ कम्पनीका सञ्चालक राजेश बाबु श्रेष्ठले भने ।

उनका अनिसार चालु आवको जेठमा दैनिक औसत ४ हजार ७ सय यात्रुले सेवा लिएका थिए । यस्तै भारतीय यात्रीहरुको उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा कुल २ लाख ६९ हजार भारतीयहरुले सेवा लिएका छन् ।
यस वर्ष यात्रुको संख्या ११ लाख ५० हजार पुग्ने कम्पनीको अनुमान छ ।