स्कटल्याण्डमाथि नेपालको शानदार जित

काठमाडौँ - काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ ।

टियु क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले लिग टू को विजेता बनिसकेकी स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको हो। स्कटल्याण्डले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले १६ रन बनाए । अर्का ओपनर आसिफ शेखले ९ रन बनाए। ज्ञानेन्द्र मल्ल ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेलले ६ रन बनाए। कुशल मल्लले ८१ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले अविजित ८५ रन बनाए ।

त्यस्तै गुल्सन झाले १७ रन बनाउँदा सोमपाल कामीले २४ रन बनाए । त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । स्कटल्याण्डका लागि माईकल लिस्कले १ सय ७ रनको शतकीय ईनिङ खेले ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए। कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १–१ विकेट लिए। स्कटल्यान्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ शीर्ष स्थानमा छ। नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अंकका साथ छैटौं स्थानमा छ ।