images

नेपाली दूतावासले भन्यो– स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कनू

दोहा । प्यालेस्टाइनको हमास समूह र इजरायलबीच थप जोखिम बढेको भन्दै स्थिति सामान्य नबन्दासम्म घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन नेपाली दूतावासले विशेष अनुरोध गरेको छ । पछिल्लो समय गाजा आसपाससहित इजरायलको दक्षिणी तथा उत्तरी सीमा क्षेत्रमा जोखिम थप बढेको र इजरायल सरकारद्वारा ती क्षेत्रमा रहेकालाई सुरक्षित क्षेत्रतर्फ जान सुझाएको भन्दै नेपाली दूतावासले अनुरोध गरेको हो । दूतावासले भनेको छ, ‘यदि तपाईं रहेको क्षेत्रमा समेत असुरक्षा बढ्दै गएको स्थिति छ भने आफ्नो रोजगारदातासँग सल्लाह गरी त्यहाँबाट बढी सुरक्षित स्थानतर्फ सर्न अनुरोध गरिएको छ ।’ दूतावासका अनुसार स्वदेश फर्कन चाहनेहरूले दूतावासबाट सुरु गरिएको अनलाइन रजिस्ट्रेसन फर्म अनिवार्य रूपमा भर्न र निश्चित रोजगारदाता नभएका नेपाली नागरिकले पनि उल्लेखित अनलाइन फर्म भर्नुपर्ने छ । सुरक्षित आश्रयस्थल नभएकाले दूतावासमा जानकारी गराउनुपर्नेछ । नेपाल सरकारका साथै इजरायल सरकार र विभिन्न आधिकारिक निकायका सूचना एवं स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्दै दूतावासको सम्पर्कमा रहन पनि अनुरोध गरेको छ । ‘अहिले दूतावासमा कामको चाप अत्यन्तै धेरै रहेको तथा एकैपटक कैयौं फोन तथा मेसेजहरू आइरहने भएकाले पहिलो प्रयासमै फोन सम्पर्क नहुन सक्दछ, त्यसका लागि क्षमाप्रार्थी छौं, यसरी दूतावासमा सिधा सम्पर्क स्थापित हुन नसकेको अवस्थामा अन्य मित्र तथा विभिन्न संघ÷संस्था समेतको सहयोग लिनुहोला,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ । नेपाल सरकारले द्वन्द्वका कारण इजरायलमा अलपत्र परेका २५३ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइसकेको छ भने नेपाल फर्काइएबाहेक अझै २ सय जनाले स्वदेश फिर्तीका लागि फारम भरेको दूतावासले जनाएको छ । गत शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने ४ घाइते भएका थिए । घाइतेको त्यहाँस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ । हमासको आक्रमणमा इजरायलमा १ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ भने १ सय ५० भन्दा बढीलाई हमास लडाकु समूहले बन्धक बनाएको छ । हमासको आक्रमणपछि इजरायलले गाजापट्टीमा गरेको हमलामा १ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ । साथै इजरायलले गाजापट्टीमा खाद्यान्न, पानी र विद्युत् आपूर्ति बन्द गरिदिएको छ ।

आइतबार​ २८ असोज २०८० ०६:५६ AM मा प्रकाशित

प्रतिक्रिया