अमेरिकी सहायक विदेशमन्त्री लुद्वारा उच्चस्तरीय भेटवार्ता

काठमाडौँ - नेपाल भ्रमण रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसियाली मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लु दिनभर विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहे ।

यस क्षेत्रमा आफ्नो नियमित कूटनीतिक संलग्नताअन्तर्गत उनी एक दिने नेपाल भ्रमणका लागि आइपुगेका थिए । भेटवार्ताका क्रममा सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर उनकी श्रीमती सीता दाहालको निधनप्रति समवेदना व्यक्त गरे ।

यसैगरी उनले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टचार भेटवार्ता गरे । सो अवसरमा उनले लोकतन्त्रका लागि शिखर सम्मेलनमा नेपालले हासिल गरेका उपलब्धि, नेपालमा मानवअधिकार संरक्षणको पछिल्लो समय सुदृढीकरण र आगामी अगष्टमा कार्यान्वयन सुरु हुने अमेरिकी अनुदान सहायता परियोजना एमसीसी कम्प्याक्टको हालसम्मको प्रगतिका बारेमा छलफल गरेका थिए । सो परियोजनाले आगामी पाँच वर्षभित्र अत्यावश्यक विद्युतीय पूर्वाधार उपलब्ध गराउने, सडक मर्मत सम्भारको क्षमतामा सुधार गर्ने र हजारौं रोजगारी सिर्जना गर्नेछ ।