निर्मला कुर्मी हत्या : विशेष समितिले अनुसन्धान गर्ने, ४८ दिनदेखिको आन्दोलन स्थगित 

 काठमाण्डौँ - रहस्यमय ढंगले बेपत्ता नेपालगन्जकी निर्मला कुर्मी हत्यामा विशेष समिति गठन गरी घटनाको नयाँ ढंगले अनुसन्धान गर्न सरकार सहमत भएको छ। गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच वार्तापछि यस्तो सहमति भएको हो ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा मंगलबार भएको वार्तामा सरकारका तर्फबाट गृहका सहसचिव जितेन्द्र बस्नेत सहभागी थिए ।

आन्दोलनरत पक्षबाट सामाजिक अभियन्ता रुबी खान सहभागी थिइन् । सहमतिसँगै माइतीघर मण्डलामा ४८ दिनदेखि जारी धर्ना समापन भएको छ। गृहप्रवक्तासमेत रहेका बस्नेतले आन्दोलनरत पक्ष र गृहबीच तीनबुँदे सहमति भएको बताए ।

उनले भने, ‘निर्मला  कुर्मी हत्यामा अनुसन्धान होस् भन्ने उद्देश्यले माइतीघर मण्डलामा ४८ दिनदेखि आन्दोलन चलिरहेको थियो। उहाँहरू र हामीबीच आज वार्ता भयो । दुई पक्षबीच तीनबुँदे सहमति भयो। सहमतिअनुसार निर्मला कुर्मी हत्या अनुसन्धानका लागि सरकारले अब विशेष अनुसन्धान समिति गठन गर्नेछ । आन्दोलनमा सहभागीहरूको ज्यानको सुरक्षा पनि सरकारले नै गर्नेछ। योसँगै आन्दोलन स्थगित गर्न उहाँहरू सहमत हुनुभएको छ ।’

रुबी खानसहितका अभियन्ता निर्मला हत्या अनुसन्धानमा न्यायिक आयोग गठन हुनुपर्ने माग राख्दै आन्दोलनरत थिए । तर, सरकार आयोग गठन गर्न भने सहमत भएको छैन । गृहप्रवक्ता बस्नेतले आयोग गठनको विषयबाट आन्दोलनरत पक्ष पछि हटेको बताए ।