images

मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्नु राज्य र नागरिकको दायित्व : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्नु राज्य र स्वयं नागरिकको पनि दायित्व भएको बताएका छन्। नेपाल संवत्  ११४४ को शुभकामना दिँदै उनले ऐतिहासिक संवत्का रूपमा स्थापित गर्न जरुरी रहेको बताएका हुन्। उनले नेपाल संवतले नेपालीहरुबीच सामाजिक एकता, सहिष्णुता तथा आपसी सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्ने विश्वास समेत व्यक्त गरे। ‘नेपालको मौलिक संवत् कोरुपमा रहेको नेपाल संवत्ले नेपालीहरुबीच सामाजिक एकता, सहिष्णुता तथा आपसी सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्ने विश्वास समेत लिएको छु।’ शुभकामना दिँदै उनले भने,‘नेपाल संवत्  नेपालमा प्रचलित मौलिक राष्ट्रिय संवत्  हो। नेपाल संवत् का प्रवर्तक शंखधर साख्वाः हुन्। उनले नेपालका विपन्न जनताको ऋण तिरेर ऋणमुक्त बनाएको दिनको सम्झनामा यो संवत्  थालिएको विश्वास गरिएको छ।’ उनले नेपाल संवत् का प्रवर्तक शंखधर साख्वालाई २०५६ सालमा राज्यद्वारा “नेपालको राष्ट्रिय विभूति”को सम्मान प्रदान गरिएको स्मरण गरे। नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।‘नेपाल संवत्  कुनै जातिविशेषको मात्र संवत्  नभएर सिंगो नेपाल र नेपालीको सम्पत्ति हो।’ उनले भने,‘ऐतिहासिक मान्यता रहेको नेपाल संवत् लाई संकुचन होइन, फराकिलो पार्दै राज्य र जनस्तरबाट पनि ऐतिहासिक संवत्का रूपमा स्थापित गर्न जरुरी छ। हरेक मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्नु राज्य र स्वयं नागरिकको पनि दायित्व हो।’

मङ्गलबार २८ कात्तिक २०८० ०८:५७ AM मा प्रकाशित

प्रतिक्रिया