प्युठानमा जिप दुर्घटना आठैजनाको पहिचान खुल्यो

 काठमाण्डौँ - प्युठानमा जिप दुर्घटना हुँदा ज्यान गुमाएका आठैजनाको पहिचान खुलेको छ । प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्कँदै गरेका आठैजना तीर्थयात्रीको दुर्घटनामा मृत्यु भएको हो । 

स्वर्गद्वारी नगरपालिका–४ उपल्लो भिङरीमा लु १ च ६३४५ नम्बरको जिप सडकबाट ५० मिटर तल खसेको थियो । मृतक सबै दाङका रहेको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१५ का ३५ वर्षीया सरिता शर्मा पोख्रेल, निजका छोरा १४ वर्षीय विशाल पोख्रेल र ९ वर्षीय विकास पोख्रेल, त्यसैगरी लमही नगरपालिका –५ का ४९ वर्षीय ताराबहादुर कुमाल, लमही नगरपालिका –७ का ४० वर्षीय गोविन्द शाह, निजकी श्रीमती ३० वर्षीया राधा शाह र ९ वर्षीय छोरा आदित्य शाह रहेको प्रहरीले जनाएको छ । 

साथै, घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको पनि सोही दुर्घटनामा ज्यान गएको छ ।