नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै, दीर्घकालीन पीपीएको प्रस्ताव गरिने

काठमाडौँ - नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकमा दीर्घकालीन विद्युत खरिद बिक्री सम्झौता पीपीए लागि प्रस्ताव गरिने भएको छ ।

भारतमा हुने लागेको ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले दीर्घकालीन पीपीएका लागि प्रस्ताव गर्न लागेको हो । अहिले नेपालको बिजुली इण्डियन इनर्जी एक्सचेन्ज आइएक्सको डे अहेड मार्केटमा बिक्री हुन्छ । दैनिक रुपमा बेच्नका लागि बिडिङ गर्नुपर्छ ।

‘दैनिक प्रतिस्पर्धाबाट बेचेर हुँदैन । हामीले दीर्घकालीन रुपमा बेच्न प्रस्ताव गर्न लागेका हौं,’ ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले भने, ‘जलविद्युतको बिजुली यसरी बेचेर हुँदैन । यसरी लगानी नै उठाउन सकिदैन । दीर्घकालीन पीपीए हाम्रो एजेण्डा हो ।’

उनका अनुसार बैठक यही फेब्रुअरी १७ र १८ फागुन ५ र ६ मा भारतमा बस्दैछ । पहिलो दिन सहसचिवस्तरीय बैठक हुनेछ । जसले प्राविधिक विषयमा छलफल गरेर एजेण्डा तय गर्ने छ। उक्त एजेण्डालाई सचिवस्तरीय बैठकले टुङ्ग्याउनेछ ।