आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै पूर्वमन्त्री विमला वलीले त्यागिन् माओवादी

 दाङ - लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीले पार्टीले आफूलाई ‘युज एण्ड थ्रो’ गरेको भन्दै नेकपा माओवादी पाटी परित्याग गरेकी छन् ।

गत २४ माघमा जिल्ला समन्वय दाङ कमिटी अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको राजीनामापत्रमा उनले आफूलाई पार्टीले ‘युज एण्ड थ्रो’ गरेको अनुभूति भएको उल्लेख गरेकी छन्। उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहनेगरी राजीनामा दिएकी हुन् ।

साविक नेकपबाट एमाले र माओवादी केन्द्र पुनः आ–आफ्नै अस्तित्वमा फर्किंदा आफू माओवादीमै रहेको र आफ्नो सापटी पैसा लिन जाँदाको विषयलाई लिएर मन्त्रीबाट राजीनामा दिन लगाइएको प्रसङ्ग उल्लेख गर्दै उनले पछि पार्टीले वास्ता नगरेको र ‘युज एण्ड थ्रो’ गरेको बताएकी हुन् ।

‘दुई पार्टी विभाजन हुँदा मैले मुटुमा ढुंगा राखेर पनि माओवादी केन्द्रलाई सहयोग गरेँ । श्रीमानको योग्दान एमालेमा हुँदा हुँदै पनि म माओवादी केन्द्रमा आउनु सानो प्रयत्न थिएन । तर, यसलाई मेरो राजनीतिक चेतना नभएको भन्ने कोणबाट विश्लेषण हुने ग¥यो । माओवादी केन्द्रले पनि यो कुरालाई सामान्यकरण गयो । तर, पनि म यसलाई संघर्षका रूपमा बुझँ र पार्टीले पनि मेरो योग्दानको कदर गर्दै प्रदेशको स्वास्थ्य राज्यमन्त्री बनायो । यो बीचमा केही उत्तारचढाप आउँदा मलाई पार्टीले सहयोग नगरेको अनुभूति मलाई भयो । ठूला–ठूला अपराधहरूलाई त पार्टीले संरक्षण गरेका इतिहास हामीसामू छन्,’ उनले राजीनामापत्रमा उल्लेख गरेकी छन्, ‘तर, आफ्नो सापटी लिएको पैसा माग्न जाँदा उत्पन्न भएको अवस्थालाई लिएर मलाई जबरजस्ती मन्त्रीपदबाट राजीनामा लिन लगाईयो । त्यसपछि पार्टीले मलाई कुनै वास्ता पनि गरेन । मलाई पार्टीले युज एण्ड थ्रो’ गरेको अनुभूति भयो। त्यसैले आजकै मितिदेखि म माओवादी केन्द्रको साधारणसदस्य समेत नरहने गरि राजीनामा दिएको घोषणा गर्दछु ।’