हेटौँडामा चिकित्सकमाथि हातपात गर्ने ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुधबार जिल्ला अदालत मकवानपुरले चिकित्सकमाथि हातपात गर्ने ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । अदालतको आदेश अनुसार बुधबार नै उनीहरू धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । अदालतले घटनामा पक्राउ परेका रमा प्रधानलाई २ लाख ५० हजार रुपैयाँ, रमिला प्रधान, रोहन प्रधान, अनुप प्रधान, जीवन लामा तथा सुनिल पाख्रिनलाई जनही २ लाख रुपैयाँले धरौटी माग गरेको थियो । गत भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालमा २ जना चिकित्सकलाई हातपात गरेका थिए । सोही घटनामा संलग्न भएको भन्दै ४ जनालाई भदौ २९ गते प्रहरीले पक्राउ गरेको थियो भने अन्य २ जनालाई फरक फरक समयमा पक्राउ गरेको थियो । यसैगरी, मकवानपुर प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोप थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा उपमहानगरपालिका १२ का ३६ वर्षीय सुवास स्याङ्तानलाई हेटौँडा–१० बाट पक्राउ गरेको हो ।