बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प

खोटाङ - प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ।

गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो।

पहिचानको आधारमा नामाकरण गराउनका लागि दवाव सिर्जना गर्न गठित प्रदेश १ पुःन नामाकरण संयुक्त संघर्ष समितिको आह्वानमा जिल्लामा बन्द गरिएको जसपाका प्रदेश समिति सदस्य नेता नविन राईले बताए।

संयुक्त बन्दका कारण जिल्लाबाट छुट्ने छोटो तथा लामो दूरीको सवारी साधन चल्न पाएका छैनन्। बन्दकर्ताले मोटरसाईकल समेत नियन्त्रणमा लिएर पार्किङ गराइरहेका छन्। सवारी साधन चल्न नदिन बन्दकर्ता बिहान साढे तीन बजेदेखि दिक्तेलको किरातचोकमा सडकमा पुगेका थिए।