दुर्गममा पुग्यो पचहत्तर हजार क्विन्टल चामल

 काठमाण्डौँ - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ७५ हजार क्विन्टल चामल ढुवानी गरेको छ । खाद्य कम्पनीले चालू आर्थिक वर्षको साउनदेखि फागुुनको पहिलो सातासम्म ७५ हजार ३६० क्विन्टल चामल ढुवानी गरेको हो । 

चालू आर्थिक वर्षमा दुर्गम जिल्लामा दुई लाख १८ हजार १६८ क्विन्टल स्वीकृत कोटाअनुसार सो परिमाणको चामल ढुवानी भएको हो । उक्त चामल ढुवानीमा १८ करोड ५१ लाख ६७ हजार ८४४ रुपियाँ खर्च भएको खाद्य कम्पनीले जनाएको छ ।

खाद्य कम्पनीले विभिन्न २४ दुर्गम जिल्लामा चामल ढुवानी गर्दै आएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा दुर्गम जिल्लाका जनतालाई सुपथ मूल्यमा चामल उपलब्ध गराउन ४९ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।