‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौँ - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछन् । लिगको आठौं चरण अन्तर्गत मंगलबार एन्फा कम्प्लेक्स र च्यासल मैदानमा एक–एक खेल हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ । जावलाखेल पाँचौं जितको योजनामा हुनेछ । आर्मी तेस्रो जितको खोजीमा हुनेछ ।

जावलाखेल ७ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । जावलाखेल आर्मीलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ । आर्मी ९ अंक जोडेर आठौं स्थानमा रहेको छ । 
यस्तै, च्यासल मैदानमा साविक विजेता मछिन्द्र फुटबल क्लब र एफसी खुमलटारबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुनेछ ।