images

कोशी प्रदेशको लागि देउवाले गठबन्धनकै सरकार बनाउन अडिग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोशी प्रदेशमा गठबन्धनकै सरकारको पक्षमा अडिग देखिएका छन् । सभापति देउवाले आफूनिकट नेताहरुसँग कोशीमा आफू गठबन्धनबाट नै सरकार बनाउनुपर्ने पक्षमा रहेको अडान सुनाएका छन् । उनले आफुहरु गठबन्धनमा रहेकोले गठबन्धनको मर्म र भावनालाई आत्मसात गरेर जानुको विकल्प नभएको कुरा पार्टी पदाधिकारी बैठकमा समेत ब्रिफिङ गरेका छन् । विकल्पहरुबारे ती दलमा छलफल गर्ने र पुनः बैठक बस्ने गरि आजको बैठक टुंगिएको कांग्रेसका शीर्ष तहका एक नेताले जानकारी दिए । ‘उद्धव थापाको ठाउँमा अर्को व्यक्ति ल्याए हामीले सहयोग गर्छौं भनेर तल राप्रपाका सांसदले हाम्रा सांसदलाई भनिदिएका छन्,’ कांग्रेस नेता भन्छन्, ‘केन्द्रमा बुझ्दा तपाईंको दलमा हामीलाई के मतलब भन्छन् । त्यसैले राप्रपाको धारणा पहिले बुझ्नुपर्ने भयो ।’  प्रधानमन्त्री दाहालले कोशी प्रदेश सरकार गठनको लागि राप्रपाको साथ खोजेका छन् । उनले आज अपरान्ह राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गर्ने तयारी गरेका छन् । त्यसअघि नै देउवाले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्ने बुझिएको छ । कोशी प्रदेशमा मुख्यमन्त्रीमा उद्धव थापासँगै संसदीय दलका उपनेता केदार कार्की र नेता अमृत अर्यालको दाबी छ ।

मङ्गलबार २३ असोज २०८० १२:३६ PM मा प्रकाशित

प्रतिक्रिया