images

शहीद शरद गौचनको छैठौं स्मृति दिवसमा महासंघमा श्रद्धाञ्जली सभा

असोज २३, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष श्रद्धेय शहीद शरदकुमार गौचनको छैठौं स्मृति दिवसमा मंगलवार महासंघ प्रांगणमा एक कार्यक्रम आयोजना गरियो । कार्यक्रमका सभाध्यक्ष महासंघका अध्यक्ष रवि सिंह, पूर्व अध्यक्ष सुकुन्तलाल हिराचन, उपाध्यक्ष खिमप्रकाश मल्ल, महासचिव रोशन दाहाल, नीतिगत उपमहासचिव शिवहरि घिमिरे लगायतले नेपालको निर्माण उद्योगको विकासमा गौचनको भूमिकाको चर्चा गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । सबै तह र तप्काका व्यवसायीका हितका लागि प्रतिबद्ध गौचनको अभाव निर्माण उद्योगमा सधै महसुस हुने उहाँहरूको भनाइ थियो ।

गौचनका हत्यारा र हत्यामा संलग्न सबै मतियारहरूलाई कानून बमोजिम पूरा सजाय हुनुपर्ने माग उहाँहरूले राख्नुभयो । देशभरका निर्माण व्यवसायीहरू सहित उनीहरूका उपकरणको सुरक्षाको जिम्मा राज्यले लिनुपर्ने उहाँहरूको भनाइ थियो । सोही अवसरमा कार्यक्रमकी प्रमुख अतिथि शहीद शरद गौचनकी पत्नी आशा गौचन, महासंघका मानार्थ सदस्यहरू, सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, निवर्तमान अध्यक्ष, पदाधिकारीहरू, कार्य समिति सदस्यहरू लगायतले एक मिनेटमा मौन धारण गरी महासंघ प्रांगणमा रहेको स्वर्गिय गौचनको अर्धकदको शालिकमा माला अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । बानेश्वरस्थित निवासबाट महासंघ सचिवालय अनामनगर आउने क्रममा गौचनको २०७४ असोज २३ गते उहाँको निवास अगाडि गोली हानी हत्या गरिएको थियो । यसैबीच शहीद गौचनको छैठौं स्मृति दिवसको अवसमा प्रदेश महासंघहरू र जिल्ला संघहरूले पनि विविध कार्यक्रम गरी उहाँको स्मरण गरेका छन् ।

मङ्गलबार २३ असोज २०८० ०५:१४ PM मा प्रकाशित

प्रतिक्रिया