नेपालमा मनसुन भित्रिन अझै केही दिन लाग्ने

 काठमाडौँ - विगत केही दिन देखि देशका अधिकांश भूभागहरूको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । देशको तराई भूभागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यका लगायत देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ । आगामी केही दिन तराईका धेरैजसो भूभागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने महाशाखाले बताएको छ । हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषण अनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने देखिन्छ ।