नेपाललाई दुवै खेलमा हराउँदै भियतनाम दोस्रो चरणमा

काठमाडौं – नेपाललाई दुवै खेलमा हराउँदै भियतनाम पेरिस ओलम्पिक(२०२४ को महिला फुटबल अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शनिबार भएको समूह ‘सी’को दोस्रो खेलमा भियतनामले नेपाललाई २–० गोलले हरायो । यसअघि पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ गोलले पराजित गरेको थियो ।


दुवै गोल पहिलो हाफमा सम्भव भएको खेलमा भियतनामका लागि फाम हाइ यनले दुई गोल नरिन् । उनले छैटौं र सातौं मिनेटमा गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो ।

दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेपनि नेपालले गोल फर्काउन सकेन । यसअघि पहिलो खेलमा नेपालका लागि सावित्रा भण्डारीले एक गोल फर्काएकी थिइन्। दोस्रो खेलमा पनि सावित्राको केही प्रयासमा भियतनामाकी गोलरक्षक खोङ थि हाङ बाधक बन्न पुगिन्।


समूह ‘सी’ को छनोटमा यसअघि समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले अन्तिममा नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच प्रतिस्पर्धा भएको हो । लगातार दुई हारसँगै नेपालको ओलम्पिक छनोट यात्रा घरेलु मैदानमै सकिएको छ । नेपालले बलियो भियतनामसँग पहिलो पटक खेलेको हो ।