नारायणगढ–मुग्लिन सडक : पहिरोको जोखिम उच्च

काठमाण्डौँ - सडक विस्तार र निर्माणका क्रममा पटक–पटक सडक भित्ता काट्दा नारायणगढ–मुग्लिन सडकको पहिरो हरेक वर्ष समस्या हुने गरेको छ। सडक बनाउने नाममा पहाड काटिरहँदा र जमिनमा अस्थिरता ल्याउँदा पहिरो जाने गरेको विज्ञको निष्कर्ष छ । 

भूगर्भविद् डा। रञ्जनकुमार दाहाल सडकसँगैका चट्टान काट्न गरिने परम्परागत अध्ययन र शैली नै गलत रहेको बताए । “अहिले सडक विस्तार र सडकको भित्ता काट्न निर्माण गरिएको गाइडलाइन मार्गनिर्देशन नै गलत छ । हामी पहिला पहाडको चट्टान काट्छौँ । अनि तल सामान्य ‘टोवाल’ लगाएर माथि त्यसै छाड्छौँ। अनि त पानी पर्ने बित्तिकै त्यो पहिरोका रूपमा सडकमा झर्ने नै भयो”, लामो समयदेखि सडकसँगैका पहिरो अध्ययन अनुसन्धानमा जुट्नुभएका डा। दाहालले भने । 

विश्व बैङ्कको सहयोगमा सन् २०१५ को अप्रिलमा सम्झौता भई तीन अर्ब ३६ करोड रुपियाँ लागतमा चार वर्ष लगाएर ३६ किलोमिटर नारायणगढ–मुग्लिन सडक विस्तार गरिएको हो । 

एसियाली मापदण्डबमोजिम दुई लेनको सडक बनाउने योजनाअनुसार यो सडकको निर्माण सम्पन्न भएको छ । पुनर्निर्माणका क्रममा पहाड काटिएको नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोको जोखिमबारे भारतीय कम्पनी इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट एन्ड टेक्नोक्रेट आईसीटीले अध्ययन गरी प्राविधिक सुझाव पनि दिएको थियो ।