कालीगण्डकी प्रसारण लाइन : तीन वर्षदेखिको अवरोध हटाइँदै

पर्वत - राष्ट्रिय गौरबको आयोजना कालीगण्डकी प्रसारण करिडोरअन्तर्गत कुश्मा–बुटवल खण्डको फलेवासमा भइरहेको अवरोध हट्ने भएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा विगत तीन वर्षदेखि फलेवास नगरपालिका–६ मा स्थानीयले अवरोध गरेपछि काम ठप्प बनेको थियो । 

फलेवास–६ देवीस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीयवासीले विगत तीन वर्षदेखि प्रसारण लाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गरेका थिए । स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारण लाइनका चार वटा टावर निर्माण हुन सकेका छैनन् । लामो समयसम्म पनि काम अघि बढ्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले पहल थालेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहित प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान, आयोजना प्रमुख चन्दन घोष सम्मिलित उच्चस्तरीय टोली स्थलगत निरीक्षण गरी काम अघि बढाउने तयारी गरेको छ ।

टोलीमा पर्वतका जिल्ला समन्वय प्रमुख विष्णुराम विक, फलेवासका नगरप्रमुख गङ्गाधर तिवारी, उपप्रमुख शोभाकुमारी क्षेत्री, प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, निवर्तमान नगर प्रमुख पदमपाणी शर्मा, प्रहरी नायव उपरीक्षक मधुसोधन न्यौपाने, वडाध्यक्ष नवीन श्रेष्ठलगायतको सहभागिता थियो । टोलीले प्रसारण लाइन निर्माणस्थलको स्थलगत निरीक्षण गरी स्थानीय बासिन्दासँग छलफल गरेको थियो ।

टोलीले कालीगण्डकी र यसका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि यो लाइन महत्वपूर्ण रहेकाले निर्माणमा अवरोध नगरिदिन आग्रह गरेको छ । लाइन अभावमा जलविद्युत् आयोजनाको विद्युत् मुख्यरुपमा वर्षायाममा प्रवाह गर्न नसकिएको भन्दै टोलीले यसबाट राष्ट्रलाई ठूलो क्षति भइरहेकोले निर्माणमा सहयोग कार्यकारी निर्देशक कुलमान घिसिङले अनुरोध गरेका छन् ।

प्रसारण लाइनको टावर सार्न सम्भव भए(नभएको विषयमा प्राविधिक टोलीले चाररपाँच दिनभित्रमा सर्वेक्षण सम्पन्न गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । “प्रसारण लाइनमुनि विद्यालय पर्छ भन्ने स्थानीयको कुरा थियो तर स्थलगत निरीक्षणबाट मार्गधिकारमा विद्यालय नपर्ने देखिएको छ”, घिसिङले भने । 

“सर्वेक्षण सम्पन्न भएपछि विद्यालयलाई प्राथमिकतामा राखी प्राविधिकरुपमा सम्भव भएसम्म टावरलाई रङ्गशालाको डिलतर्फ च्यापेर टावर निर्माण गर्ने सहमति भएको छ, रङ्गशालाभन्दा तल भिर रहेकाले टावर धेरै तलसम्म लैजाने सम्भावना देखिँदैन”, उनले भने ।