images

इजरायलका ४,५०० नेपालीलाई नेपाली दुतावासका चार सन्देश

इजरायल र प्यालेस्टाइनबीच लामो समयदेखिको खिचातानीबीच प्यालेस्टाइनी मुस्लिम समूह हमासले आकस्मिक आक्रमण गरेर युद्धलाई निम्तो दिएको छ । गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको, हजारौं घाइते भएको सूचना सार्वजनिक भएको छ । घाइते हुनेमा इजरायलमा पढ्न गएका नेपाली समेत रहेको बताइएको छ । नेपालको परराष्ट्र मन्त्रालयले त्यस सम्बन्धी प्रारम्भिक सूचनाहरु उपलब्ध भएकाले आफूहरु त्यसलाई बुझ्ने क्रममा रहेको बतायो । इजरायलस्थित नेपाली दुतावासले त्यहाँ रहेका ४५ सय नेपालीलाई सतर्क र सुरक्षित रहन भन्दै सन्देश दिएको छ । अनलाइनखबरसँग कुरा गर्ने क्रममा इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमास आक्रमणले संसारभरि त्रास फैलिएका बेला संयम र सतर्क हुन भन्दै यी सुझाव दिइन् । 

एक– तत्काल आफू रहेकै ठाउँमा सुरक्षित रहनुहोस् । इजरायल पहिलादेखि नै द्वन्द्वग्रस्त क्षेत्र रहेकाले हरेक घर र कार्यस्थलमा आपतकालीन सुरक्षाका लागि सेल्टर बनाइएको हुन्छ । तपाईंहरु कुनै आक्रमणको संकेत पाउनेबित्तिकै सेल्टरमा रहनुहोस् ।

दुई– इमर्जेन्सी रुल अक्षरशः पालना गर्नुहोस् । इजरायलको सरकारले हमास आक्रमणलगत्तै इमर्जेन्सी रुल्स जारी गरेको छ, जसमा कहाँ जाने, नजाने, के गर्ने नगर्ने स्पष्ट उल्लेख छ । ती नियम नेपालबाट इजरायल आएका नागरिकहरुका हकमा समेत लागु हुन्छन् । त्यसैले आपतकालीन अवस्थामा त्यसलाई पालना गरिदिनुहोस् ।

तीन– सामाजिक सन्जालमा अपुष्ट खबर दिएर त्रास नफैलाउनुहोस् । युद्ध र आक्रमणका बेला अपुष्ट र फेक न्युजहरु सर्वत्र फैलिन्छन् । अहिले इजरायलमा पनि त्यही भइरहेको छ । पहिले इजरायल वा अन्यत्र भइसकेका घटनालाई आज भएको झैं गरी प्रचार गर्दा बेकारमा तपाईंको परिवार र आफन्त त्रसित मात्रै हुन्छन् । त्यसो नगर्नुहोस् । जिम्मेवार भएर फेसबुक इन्स्टाग्राम ट्वीटर आदि चलाउनुहोस् ।

चार– केही समस्या परे दुतावासमा सम्पर्क गर्नुहोस् । हमासको आक्रमणका क्रममा तत्काल धेरै नेपालीहरुलाई ट्रमा वा कुनै खालको स्वास्थ्य समस्या उत्पन्न भएको हुन सक्छ । कति त घाइते पनि हुन सक्छन् । हामीले दुतावासको सम्पर्क नम्बर फेसबुकमा राखिदिएका छौं ।

सम्पर्कका लागि :
१. अर्जुन घिमिरे, प्रथम सचिव – ०५२८२८९३००
२.संजयकुमार साह, सहचारी – ०५४-५५८२०७७

शनिबार २० असोज २०८० ०८:१८ PM मा प्रकाशित

प्रतिक्रिया