होली तराई र पहाडमा किन फरक मनाईन्छ ?

काठमाडौँ - नेपाल साँस्कृतिक विविधता भएको देश हो । यहाँ भूगोल, जात, धर्म, समुदायका अनुसार फरक–फरक सँस्कृति पाइन्छ । यसमध्ये होली एउटा यस्तो पर्व हो, जुन देशैभरि मनाइन्छ । तर, पहाडमा एकदिन अघि र मधेसमा एकदिन पछि ।

कतिपय यस्ता पर्वहरू छन् जुन फरक भुगोल, जात, धर्म, समुदायका भएपनि साझा रुपमा एकै दिन मनाइन्छ । जस्तै–दशैं, तिहार, छठ, रक्षाबन्धन, तीजलगायतका पर्वहरु हिमाल, पहाड तराईमा एकै दिन मनाइन्छ । तर, होलीचाहिँ देशैभरि मनाइने पर्व भएपनि तराई र पहाडमा फरक–फरक दिन मनाउने गरिन्छ । तराई र पहाडमा फरक–फरक दिनमा मनाइने होलीका आ–आफ्नै दन्त्यकथा, मान्यता एवं परम्परा छन् ।


सँस्कृतिविद रामभरोस कापरी ‘भ्रमर’ ले पहाडमा नेपाली पञ्चाङ्ग र मधेसमा मिथिला पञ्चाङ्ग अनुसार होली मनाउने भएको हुनाले फरक देखिएको बताए ।पहाड र मधेसको सँस्कृति फरक–फरक भएको हुनाले चाडपर्व मनाउने कुरामा फरक हुने बताउँदै कसको पालामा कुन पर्वको सुरुवात भयो, त्यसले पनि मनाउने समय फरक देखिने गरेको उनले बताए ।

कापरीका अनुसार मिथिलाका राजा हर्षवर्द्धनका पालादेखि परम्परागत रुपमा होली मनाउन सुरु गरिएको हो । तर, पहाड मध्यकाल अर्थात मल्लकालका राजाका पालादेखि मनाउन सुरु गरिएको हो । फरक– फरक समयमा सँस्कृतिको सुरुवात भएका कारण चाडपर्व मनाउनेदिन फरक परेको हो ।

फागुन शुक्ल पक्ष अष्टमीको दिन काठमाडौंको वसन्तपुरमा होलीको चीर खडा गरेपछि पहाडमा विधिवतरुपमा होलीको सुरुवात भएको मानिन्छ । फागुन शुक्ल पक्ष अष्टमीको दिनदेखि सुरु भएको होली पूर्णिमाका दिन सम्पन्न हुन्छ ।

तर, तराई मधेसमा वसन्त पञ्चमीका दिनदेखि नै होलीको सुरुवात हुन्छ र १५ दिनसम्म मनाइन्छ । अर्थात फागु पूर्णिमाको दिन होलिकाको दहन गरेपछि त्यसको खुसीयालीमा त्यसको भोलिपल्ट रंग अबीर खेलिन्छ र होली सम्पन्न हुन्छ ।

अर्का संस्कृतिविद् रामदयाल राकेशले भने तराई र पहाडमा फरक–फरक दिनमा किन होली मनाइन्छ भन्ने कुराको तुलनात्मक अध्ययन कहीँ नभएको बताउँछन् । फरक भुगोल र सँस्कृतिका कारण फरक फरक दिनमा मनाउने गरिएको उनी बताउँछन् ।

प्रत्येक संस्कृतिको आफ्नै महत्व, मौलिकता र सौन्दर्य हुने भएकाले त्यहीअनुसार आफ्नो रीति रिवाज अनुसार चाडपर्व मनाउने गरेको राकेशको तर्क छ । तराई र पहाडमा फरक–फरक दिनमा होली मनाउने कार्य परम्परादेखि नै हुँदै आएको बताउँदै यसलाई कसैले परिवर्तन गर्न नसक्ने उनले बताए ।

राकेशले भने, ‘तराई र पहाडमा फरक–फरक दिनमा मनाइने होली एकैदिन मनाउने कार्य अब सम्भव छैन । किनभने, यो एउटा संस्कृति बनिसकेको छ, यसलाई सबैले मानिसकेका छन् ।