नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाण्डौँ - नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ ।

बिहीबार राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई र राष्ट्रसंघका लागि नाऊरुकी प्रतिनिधि मार्गो रेमिनिस्से डिएइले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । योसँगै नेपालसँग कूटनीतिक सम्बन्ध राख्ने देशको संख्या एक सय ७९ पुगेको छ ।

दुई देशका राजदूतले कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी राष्ट्रसंघका महासचिवलाई दिएका छन् । दुवै देशका राजदूतले दौत्य सम्बन्ध स्थापनाले राष्ट्रसंघलगायत मञ्चमा सहकार्य र समन्वय हुने, दुई पक्षीय हितमा काम गर्ने र नागरिकस्तरको सम्बन्ध स्थापना हुने कुरामा आश्वस्त रहेको बताएका छन् ।

सन् १९६८ मा स्वतन्त्र मुलुकको मान्यता पाएको नाऊरु प्रशान्त महासागरको नजिक अष्ट्रेलियाको उत्तर पूर्वमा अवस्थित देश हो ।