होलीमा प्रहरीको विशेष अभियान, जथाभावी गर्नेलाई कारबाही गरिने 

काठमाडौँ - नेपाल प्रहरीले होलीलाई व्यवस्थित तरिकाले मनाउन आग्रह गरेको छ । सोमबार पहाडी क्षेत्र र मङ्गलबार तराई क्षेत्रमा होली मनाइँदैछ ।

होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको छ । होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दैछ ।

इच्छा विपरीत रङ्ग वा लोला हानेमा पक्राउ गरेर मुद्दा चलाउने प्रहरी वरिष्ठ उपरीक्षक एवम् सहप्रवक्ता दिपेन्द्र जीसीले चेतावनी दिएका छन् । होलीलाई व्यवस्थित र सभ्य बनाउन सादा पोशाकका प्रहरी समेत परिचालन गर्ने योजना रहेको छ ।

अभद्र तरिकाले होली खेलिएको पाइए कारबाही हुनेछ । यस्तै, कसैले इच्छा विपरीत रङ्ग लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाइदिएमा पनि उजुरी गर्न प्रहरीले आग्रह गरेको छ । ट्राफिक प्रहरीसँगको सहकार्यमा सुरक्षा जाँचलाई कडाइ गरिनेछ । मोटरसाइकल चलाउँदा हेलमेट अनिवार्य लगाउन, तीन जना नचढ्न र जाँडरक्सी वा लागुपदार्थ खाएर गाडी नचलाउन प्रहरीले आग्रह गरेको छ ।