बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने छौं : अर्थमन्त्री पौडेल

भैरहवा - उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको बताएका छन्।

रुपन्देहीका सरकारी कार्यालयका प्रमुखसँग भैरहवामा छलफल गर्दै अर्थमन्त्री पौडेलले भने, “औचित्यताको आधारमा नबनाई आफूखुसी बजेट बनाउने र वर्षको बीचमा आएर बजेट रकमान्तर गर्ने गलत परिपाटी रोक्न हामीले नीति नै बनाउँदै छौँ । अर्को वर्षदेखि बजेट रकमान्तर नै गर्न नपाउने गरी कार्यक्रम ल्याउँछौँ ।”

उनका अनुसार सङ्घ, प्रदेश, स्थानीय सरकार मात्रै नभई सरकारी कार्यालयले आर्थिक वर्षको मध्यमा आएर बजेट रकमान्तर गरेर नयाँ काम गर्ने पुरानो परम्परा रहँदै आएको छ । उनले योजना छरपस्ट बनाउने र कार्यान्वयन गर्ने बेला फितलो हुने प्रचलनलाई रोक्न बजेटको रकमान्तरणमा रोक लगाउन लागेको स्पष्ट पारे।

अर्थमन्त्री पौडेलले सरकार खर्च कटौतीको विन्दुमा पुगेकाले अत्यावश्यक कामबाहेक अन्य खर्चमा जोड नदिन पनि आग्रह गरे । उनले भने, “हामी धेरै अप्ठ्यारो अवस्थामा छौँ भन्ने बुझ्नुपर्दछ । राजस्व परिचालनको अवस्था गत वर्षको भन्दा १५/२० प्रतिशत कमजोर छ । यसैले खर्च कटौती गर्दै मितव्ययी हुन जरुरी छ ।”