images

‘भुक्तानी नपाएका कारण निर्माण व्यवसायीको ज्यान गएको खबरले महासंघ मर्माहत’

असार १९, काठमाडौं । काम गरे बापत् रकम भुक्तानी नपाएकै कारण डडेल्धुराका एक निर्माण व्यवसायीको दुःखद निधन भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । जिल्ला निर्माण व्यवसायी संघ डडेल्धुराका कार्य समिति सदस्य समेत रहेका डम्बरदेव भट्ट (सन्तोष) को उपचारको क्रममा धनगढीमा असार १५ मा निधन भएको खबरबाट आफू मर्माहत भएको महासंघको भनाइ छ । डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका—५ निवासी भट्टलाई घर नजिकैको जंगलमा घाँटीमा चक्कुले प्वाल परेको अवस्थामा फेला पारिएपछि स्थानीय अस्पतालमा प्रारम्भिक उपचार पश्चात् थप उपचारार्थ धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकोमा उपचारको क्रममा उनको निधन भएको थियो । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय अन्तर्गतका ठेक्काहरूको भुक्तानी सम्बन्धित् कार्यालयहरूबाट नआएपछि भट्टले आफू ठूलो आर्थिक समस्यामा परेको निकटस्थहरूलाई बताएको थाहा हुन आएको छ । ‘व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा उनीहरूले मानसिक रुपमा विक्षप्त भई ‘आत्मदाह’ गर्न सक्ने अत्यन्त विषम परिस्थितितर्फ यस महासंघले विगत केही महिना अघि देखि नै सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएपनि हालसम्म कुनै सुनुवाई नभएको विदितै छ ।’ महासंघका महासचिव रोशन दाहालद्धारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ । यस अर्थमा भट्टको मृत्युको जिम्मेवारी राज्यले नै लिनुपर्ने महासंघको भनाइ छ । सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधन पश्चात् राज्यबाट व्यवसायीहरूको करीब ४० अर्ब रुपैया भन्दा बढी भुक्तानी नभएबाट हजारौं निर्माण व्यवसायीहरू आर्थिक रुपमा ठूलो समस्यामा परेको महासंघले जनाएको छ । अब आर्थिक वर्ष समाप्त हुनै लाग्दा समेत सरकारले व्यवसायीहरूको उक्त अरबौं रकम भुक्तानी गर्न कुनै तदारुकता नदेखाएमा अन्य व्यवसायीहरूबाट समेत यस्तै दुःखद घटना हुन सक्ने पीडादायी अवस्थाप्रति महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । यस्ता दुःखदायी घटना रोक्नका लागि आवश्यक पहल गर्न समेत महासंघका महासचिव दाहालले नेपाल सरकार समक्ष जोडदार माग गरेका छन् । महासंघले व्यवसायी भट्टप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरी घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य तत्काल सार्वजनिक गर्न समेत नेपाल सरकारसँग माग गरेको छ ।

बुधबार १९ असार २०८१ ०६:३४ PM मा प्रकाशित

प्रतिक्रिया