सुनकोशी जीप दुर्घटना : बेपत्ताहरुको अवस्था अझै अज्ञात !

काठमाडौँ - सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका ३ जनाको अवस्था अझै अज्ञात रहेको छ । शुक्रबार सानोठिमी भक्तपुरबाट खोटाङ जाँदैगरेको सिटीइभीटीको सरकारी बीएबी ७४६७ नम्बरको स्कारपीयो सिन्धुलीको गोलाञ्जोर गाउँपालिका–६ स्थित् सुनकोशी नदीमा खसेको थियो ।

स्कारपीयोमा सवार ४ जनाहरूमध्ये चालक कृष्णबहादुर चौधरी पौडिएर निस्कन सफल भएका थिए भने अन्य ३ जनाको अवस्था अझै अज्ञात रहेको सिन्धुली जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरन्जीवी दाहालले रिपोर्टर्स नेपाललाई जानकारी दिए ।

गाडीमा सवार सिटीइभीटीका सहसचिव कृष्णबहादुर केसी, योजना महाशाखाका निर्देशन यमप्रसाद भुर्तेल र विद्युत प्रशिक्षक भानु पौडेलको अवस्था अज्ञात रहेको छ।

स्कारपीयो मध्यपहाडी लोकमार्गभन्दा करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको हो ।