भारतसित जोडिएको चिवाभञ्ज्याङ नाका खोल्न माग

पाँचथर - पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न माग गरिएको हो ।

नाका खोल्न माग गर्दै याङवरक गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएको छ । नाका सञ्चालनमा नआउँदा नेपाल–भारत (सिक्किम) आवतजावत गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले बताए । स्थानीय उत्पादन भारत निकासी रोकिएको, चिवाभञ्ज्याङ हुँदै नेपाल आउन चाहने पर्यटक र तीर्थयात्रीले बाटो प्रयोग गर्न नपाएकाले यथाशीघ्र नाका सञ्चालनको व्यवस्था गर्न माग गरिएको उनले बताए ।