कार दुर्घटना हुँदा एकको मृत्यु, तीन जना गम्भीर घाइते

फिदिम - शुक्रवार राती ७ः३० वजे फिदिमको मेचीमार्ग अन्तर्गत कान्छी दोकानमा कार दुर्घटना हुँदा झापा नगरपालिका–१ कि १८ वर्षीया रश्मि भुजेलको मृत्यु भएको छ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरी फर्कने क्रममा प्र–१–०१–००१ च ९३४९ नम्बरको कार दुर्घटना भएको हो । 

सोही वतनका स्वयम चालक रहनु भएका  मृतकका बुबा ४५ वर्षीय राजु भुजेल गम्भीर घाइते भएका छन् । राजुकी श्रीमती ३९ वर्षीया लीला भुजेल र ४० वर्षीया दिदी सिता भुजेल गम्भीर घाइते रहेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताए । उनीहरू तिनै जना बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पर्नु भएका राजुका १३ वर्षका छोरा राजमोहन भुजेल सकुशल रहेको जनाइएको छ । 

एकै परिवार सवार कार दुर्घटना भएको डेड घण्टापछि स्थानीयले सूचना दिएपछि घाइतेको उद्धार गर्न प्रहरी पुगेको थियो । उद्धारपछि फिदिमको जिल्ला अस्पतालमा घाइतेहरूको उपचार गर्न पुर्याइएको थियो ।  उपचारकै क्रममा रश्मिको राती १०ः४९ बजे मृत्यु भएको बताइएको छ । कार सडकदेखि २०० मिटर तल झरेको र दुर्घटनाको कारणका बारे अनुसन्धान भइरहेको खतिवडाले बताए ।