एक करोडभन्दा बढीको सुन र हीराका गहनासहित तीन जना पक्राउ

चितवन - भन्सार छलेर ल्याएको रु एक करोड १० लाख बराबरको सुन र हीराको गहनासहित तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट काठमाडौँ लैजाँदै गरेको ६३ दशमलव ८९८ तोला र हीरा जडित गरगहना २२ दशमलव ८७८ तोला गहनासहित भारतीय नागरिक पक्राउ परेका हुन् ।

भारतको कलकत्ताबाट काठमाडौँ जान आउँदै गरेको भारतीय नम्बर प्लेटको WB12AV556 नम्बरको भारतीय गाडीमा लुकाइछिपाइ ल्याउँदै गरेको गहना आज बिहान १ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जना र बरामद सामान सार्वजनिक गरेको हो ।