छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ - देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। झापा, कन्काई नगरपालिका-८ लक्ष्मीपुर चोकमा ना.४ च ४५२५ नम्बरको कारको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँ बस्ने ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेका छन्। हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-१७ स्थित सडकमा स.५ प ७८८ नम्बरको मोटरसाईकल र प्र-१-०१-००१ ख. ४१७१ नम्बरकलो ट्रक एक-आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका-९ बस्ने ३१ वर्षीय बिनोद तिमल्सिनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धादिङ, धुनिबेंशी नगरपालिका-९ रुपाकोटस्थित सडकमा प्र.३-००१ क. ६४५६ नम्बरको टिप्पर दुर्घटना हुँदा टिप्पर चालक सोही नगरपालिका-५ बद्रीटार बस्ने २९ वर्षीय सानोकान्छा तामाङको मृत्यु भएको छ। निर्माणाधिन सडक भाँसिएर सडकबाट करिब २ मिटर तल खसेर दुर्घटना हुदाँ गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो। सहचालक समेत २ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ स्थित सडकमा रा. १ ह ४०९९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीय केदार भण्डारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल तुलसीपुर हुँदै मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो।